निधारमा रातो टीका, पिठ्युमा झोला र साथमा तीन नाबालक छोरा/छोरीसहित बुधबार बेदकोट नगरपालिका–३ का बलदेन विक गड्डाचौकी नाकामा भेटिए।
विगत आठ वर्षदेखि भारतको राजधानी दिल्लीस्थित कम्पनीमा मजदुरका रुपमा कार्यरत विक यसपटक भने दुई नाबालिका छोरी र एक छोरालाई पनि आफूसितै राख्ने र सके पढाइ गराउने योजनाका साथ दिल्ली हिँडेको सुनाए।“श्रीमती भारतमै छ, म यहाँ छोराछोरी लिएर उतै मजदुरी गरेर जीविका चलाउने योजनाले दिल्ली जान हिँडेको हुँ।” विकले भने, “आफू जन्मिएको माटो छोडेर अरुकोमा काम गर्न जानु बाध्यता हो।”
स्थानीय तहको निर्वाचनले मुलुक चुनावी माहोलमा तातेका बेला बढ्दो गर्मीलाई बेवास्ता गर्दै बलदेन जस्तै दैनिक सयौँ नागरिक यतिबेला गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत पस्दै छन्।“चुनावी माहोल गाउँघरमा ताते पनि यहाँ पसेर पेट कसरी पाल्नु?”, भावुक हुँदै विकले भने, “ निर्वाचनमा घरमा बुढाआमा÷बुवा छन् उहाँहरु भोट हाल्नुहुन्छ।” कञ्चनपुरको गड्डाचौकी नाकाबाट सुदूरपश्चिम प्रदेशका मात्रै नभई अन्यत्र क्षेत्रका नागरिक पनि रोजगारीका लागि भारतका विभिन्न ठाउँमा दिनहुँ गइरहेका छन्।
गड्डाचौकीबाट भारतको सिमला गइरहेका रोल्पा कुवाखोलाका ७० वर्षीय सितलाल पुन स्याउबारीमा काम गर्न आफू भारत जान लागेको बताउए। “चुनाव भए पनि आफ्नो अवस्था र नियतिले जीवनभर मजदुरी गरेरै यतिका वर्ष बिताए”, पुनले भने, “मुलुकमा जस्तो सुकै परिर्वतन आएपनि गरिबका दिनमा सुख कहिल्यै आएन।”