देशभरका निर्वाचन अधिकृतको कार्यालयले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिरहेका छन् ।
शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको छ ।
कसलाई के चिह्न ?
काठमाडौं उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव चिह्न लौरो पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।
पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् ।
त्यस्तै, पोखरा महानगर प्रमुख पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार विमलबहादुर कार्कीले चुनाव चिह्न लालटिन पाएका छन् ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई आयोगले चुनाव चिह्न ‘आँप’ दिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिकामा स्वतन्त्रबाट मेयर पलमा उम्मेदवार दिएका गायक टंक तिमिल्सेनाले आँपको दाना चुनाव चिह्न पाए ।
तनहुँको व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् ।
नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी समुहबीच तालमेल भएको छ ।
मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) यादव र नेकपा माओवादी केन्द्रका न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यस्तै, विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले ‘घण्टाघर’ चिन्ह पाएका छन् ।
उपमेयरमा उठेका बसुन्धरा देवी झाले ‘जेब्रा’ र गंगादेवी सुवेदीले ’चापाकल’ चिन्ह पाएका छन् ।
काभ्रेको बनेपा नगरपालिकामा मेयर बन्नका लागि अधिकृतको जागिर छाडेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका कन्चनराज गिरीले ‘पुतली’ चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन चिह्न
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।
यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उम्मेदवारी
यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा तीन हजार २४९ पुरुष र २६८ महिला गरी तीन हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र एक हजार ५६८ महिला गरी दुई हजार १७५, गाउँपालिका अध्यक्षमा तीन हजार १४९ पुरुष र १९८ महिला गरी तीन हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र एक हजार ७९१ महिला गरी दुई हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।
यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र दुई हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।
७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।