पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ३ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै त्यहाँको कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण हाल बढ्न थालेको बताइएको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो ।
२४ घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि जानकारी दिइएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८ सय ४३ पुगेको छ ।
भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायता सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायता सक्रिय सङ्क्रमित बढेको पाइएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाको समयावधिमा दुई हजार ८७६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।