निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिए । उनका अनुसार स्थापतिले एक सार्वजनिक कार्यक्रममा प्रयोग गरेको शब्दबारे स्पष्टीकरण सोधिएको हो ।
स्थापितलाई पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘‘तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन ?’
धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा ‘मिटु’ अभियानका क्रममा लागेको आरोपबारे प्रश्न सोध्दा स्थापितले ‘यु आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यस्तै, एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।