नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैशाख २२ गते सुदूरपश्चिम आउने भएका छन् ।
स्थानीय तह निर्वाचनको चुनावी आम सभामा एमालेका उम्मेदवार जिताउन उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् । उनले २२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुनेछ । कैलालीको बर्दगोरीया वा लम्की चुहा मध्य एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ ।
२२ गते एमाले अध्यक्ष ओली आउने कार्यक्रमको लागि तयारी सुरु भएको एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले जानकारी दिए । एमाले कैलाली इन्चार्ज रानाको अध्यक्षतामा अध्यक्ष ओली आउने कार्यक्रमका लागि मूल परिचालन समिति गठन भएको छ ।
तयारीको लागि जनपरिचालन समिति, मञ्च व्यवस्थापन, स्वयम सेवक व्यवस्थापन, यातायात व्यवस्थापन समिति र प्रचार प्रसार तथा मिडिया व्यवस्थापन समिति गठन गरिएको छ ।