पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ ।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ ।
पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो ।
काठमाडौं महानगरपालिकाले केही दिन नेपालटार हँुदै वैकल्पिक बाटोमार्फत फोहोर व्यवस्थापन गरेपनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहोरको गाडी लान नदिने भनेपछि अहिले फोहोर लाने काम पूर्ण रुपमा ठप्प भएको छ । लामो समयसम्म सडकमा फोहर थुप्रिदा आवतजावत गर्न समस्या भएको छ ।
फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । उनका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ ।
‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, राईले भनिन्, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ उक्त स्थान भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिन्छ ।
उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन ।
नियमित पानी पर्न सुरु गरी सकेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ ।
फोहोरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राईले उक्त समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताइन् । रासस