शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् ।
न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।
आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ । पहिलो चरणमै न्यून परीक्षार्थी उत्तीर्ण भएपछि केहीले परीक्षामा कडाइ भएको हुनाले यस्तो नतिजा आएको र अब विद्यालय तहमा क्षमतावान् शिक्षक आउँछन् भन्ने विश्लेषण गरिएको थियो । केहीले भने शिक्षण पेसाप्रति नागरिकको रुचि घट्दै गएको हो कि भन्ने अनुमान पनि गरिएको थियो ।
आयोगले यसै पटकदेखि परीक्षाको पाठ्यक्रमसमेत परिवर्तन गरेर पहिलो चरणको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने नीतिगत व्यवस्था गरेको हो । मुलुकभर माध्यमिक तहका लागि सबै विषयसहित एक हजार ५५२ जना कोटाका लागि आवेदन आह्वान गरेको थियो । परीक्षामा ३२ हजार ९७ जना सहभागी भएका थिए । जसमध्ये तीन हजार ८८८ जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको करिब १२ प्रतिशत मात्रै हो ।
सबैभन्दा थोरै परीक्षार्थी मधेस प्रदेशमा उत्तीर्ण भएका छन् । मधेस प्रदेशमा सबै विषयसहित दुई हजार १५ जना परीक्षार्थी सहभागी भएकोमा १२० जना मात्रै उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट एक हजार ४७३ जना सहभागी भएकोमा १९१ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश १ बाट आठ हजार ७१ जना सहभागी भएकोमा ९८८ जना मात्रै उत्तीर्ण भए ।
आयोगका अध्यक्ष मधु रेग्मीले विश्वविद्यालयबाट गुणस्तरीय जनशक्ति उत्पादन हुन नसक्दा यस्तो नतिजा आएको हुन सक्ने बताए । शिक्षाविद् प्राध्यापक डा. बालचन्द्र लुइँटेलले समाजमा पठन संस्कृतिको अभाव हुँदा शिक्षक पेसामा लाग्न चाहनेको नतिजा न्यून आएको बताए ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनको डिनसमेत रहेका लुइँटेलले विश्वविद्यालयमा हुने पढाइको शैली र शिक्षक सेवा आयोगले सञ्चालन गर्ने परीक्षाको संरचनासमेत वैज्ञानिक नभएकाले पनि नतिजा न्यून आएको बताए ।