कैलालीमा एकैदिन तीनजनाले आत्महत्या गरेका छन्।
मंगलवार साँझ ५ बजेतिर भजनी नगरपालिका–१ गौनियाकी ४० वर्षीया आशादेवी चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको र उनको शव परीक्षणका लागि टिकापुर अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, साँझ ७ बजेको समयमा भजनी नगरपालिका–८ मोहानपुर बस्ने ७५ वर्षीया काली चौधरी पनि मृत फेला परेकी छन् । उनको शव घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनको शव पनि परीक्षणका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
यता, धनगढी उपमहानगरपालिका–७ देवरियाकी १६ वर्षीया नम्रता चौधरीको शव फेला परेको छ । चौधरीले आफ्नै घरको सुत्ने कोठाको पंखाको सिलिङमा दोपट्टाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलको अनुसन्धानपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
साथै ३ वटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।