त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ ।
विमानस्थलका अनुसार एक अज्ञात व्यक्तिले बुधबार बिहान पौने १० बजेतिर २ पटक फोन गरेर ६–७ वटा बम राखिएको भनेर भनेको र दुई घण्टाभित्र विष्फोट हुने जानकारी गराएका थिए । सलाम वालेकुम भन्दै विदेशबाट फोन गर्ने ती व्यक्तिले नेपालीमा कुरा गरेका थिए ।
त्यहाँ शंकास्पद वस्तु रहेको भन्दै एक अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडान बन्द गर्दै आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको थियो ।
त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले कुकुरसहित सर्च अपरेसन गरेको थियो । तर, केही शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ ।
केही शंकास्पद वस्तु नभेटिएपछि बन्द रहेको आन्तरिक उडान सुचारु भएको छ । विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएका यात्रुलाई भित्र पठाइएको छ ।
बम राखिएको भनेर फोन गर्ने व्यक्तिबारे अनुसन्धान सुरु गरिएको छ ।