प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा निजी गाडी प्रयोग गरेका छन्। उनी बुधबार भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन्।
प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो। कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नम्बरको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन्।
श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए। उनले भने, ‘यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुनेछ।’
श्रेष्ठका अनुसार देउवा चितवनमा रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन्। उनले भने, ‘सबै खर्च पार्टीले गर्नेछ।’ सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन्। देउवा बुधबार विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका हुन्। देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार उक्त जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो। उनले भने, ‘निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो।’
चितवनमा सत्ता गठबन्धनले गर्न लागेको सभालाई सम्बोधन गर्न देउवा आएका हुन्। उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बुधबार चितवन आएका छन्। सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छिन्। त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन्।