जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरूले सुझाएका हुन् ।
जलवायुविद् धर्मराज उप्रेतीले आसानी नाम दिईएको यस आँधी निकै तिब्र गतिमा चलेको बताए । सो आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गते देखि प्रभाव देखिने उनले बताए ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।
‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापीय अवस्था समुद्री आँधीको रूपमा विकसित भएको छ । यो न्युन चापीय अवस्था वैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्युन चापीय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ’, उनले भने, ‘त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर वैशाख २७ गते राति देखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ ।’
उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था रहेको भन्दै उनले अहिले नयाँ प्रणालीले गर्दा चुनावको मुखमा पानी पर्ने र त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्नसक्ने भएकाले पूर्वतयारी गर्ने अनुरोध गरेका छन् ।
‘सबै मतदान गर्ने केन्द्रमा पानी पर्छ भन्ने होइन कतै नपर्न पनि सक्छ’, उनले अगाडि भने, ‘कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि हुनसक्छ । तर हामी तयारी अवस्थामा बस्नुपर्ने हुन्छ ।’
जलवायुविद् उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिए ।
‘पानीमा मतदाता भिज्न सक्ने हुनसक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ । यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु,’ उनले भने । न्युज एजेन्सी नेपाल