नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतगणना सुरक्षाप्रति आशङ्का व्यक्त गरेका छन्।
पोखरामा सोमबार आयोजित एमालेको चुनावी सभामा उनले गठबन्धनका दलले मतपत्र च्यात्न सक्ने आशङ्का व्यक्त गरे। साथै, उनले मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन दिए।
उनले भने ‘गठबन्धनले मतले जित्ने कुनै सम्भावना छैन । यसकारण तपाईंहरु मतगणनाको बेलामा आँखा झिमिक्क पनि नपार्नुस् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म सुत्न हुन्न।’
उनले मतपत्रको सुरक्षा जनताले नै गर्ने बताए। अध्यक्ष ओलीले आफ्नो पार्टीको जितपछि युवावर्गलाई शिक्षा, तालिम र रोजगारको अवसर दिने आश्वासन दिए।
पोखरासँग भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष ओलीले ४० वर्षअघि पोखराको जेलमा तीन वर्ष बिताएको र यहाँको भूगोल र सम्भावनाको बारेमा आफूलाई ज्ञान भएको स्पष्ट पारे।