नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबै लाई आग्रह गरेका छन्।
मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनले भने, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्यो। वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ।’
चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ। प्रमुखमा कांग्रेसबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसन दानी उपप्रमुख उम्मेदवार छन्। सिंहले एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरि लाग्नु पर्ने बताए।
एमाले अध्यक्ष केपी ओेलीले पटक पटक संविधान र व्यवस्थामाथि प्रहार गरेकाले संविधान र व्यवस्था जोगाउन गठबन्धन गर्नुपर्ने बाध्यता रहेको कुरा बुझ्न समेत आग्रह गरे।