रुकुम पश्चिममा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनदिनै जसो झडपका घटनाहरू भइरहेका छन्।
स्थानीय तह चुनावको लागि उम्मेदवारी दर्तापछि मात्रै त्यहाँ करिब १५ स्थानमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ।
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काका अनुसार फाटफुट रूपमा अनेकौँ ठाउँमा झडप भएका छन् तर त्रिवेणी, आठविसकोट, बाफीकोट र चौरजहारीमा भएका घटनाहरू अलि गम्भीर प्रकारका छन्। ती ठाउँमा भएका घटनामा कम्तीमा पनि ५ जनाको दरले मानिसहरू घाइते भएको पाइएको छ।
यहाँ माओवादीविरुद्ध अरू दल मिलेका हुँदा माओवादीले रुकुमलाई प्रतिष्ठाको विषय बनाएको हुँदा झडप भइरहेको प्रहरीले जनाएको छ। रुकुम पश्चिमका ६ वटा पालिकाहरूमध्ये ४ वटा पालिकामा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने माओवादी केन्द्र सबै पालिकाहरूमा एक्लै प्रतिस्पर्धा गरिरहेको छ।
सुरक्षाका हिसाबले रुकुम पश्चिम अति संवेदनशील पहाडी जिल्ला मानिँदै आएको छ। झडपका घटना बढ्न थालेपछि रुकुम पश्चिममा केन्द्रबाट आज थप सुरक्षाबल झिकाइएको सहायक प्रजिअ खड्काले जानकारी दिए।