निर्वाचन आयोगले आज र भोलि मतदाताहरूलाई मतदानस्थलमा मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने भएको छ।
नमुना मतपत्र, पोस्टर, ब्रोशर आदि सामग्री प्रयोग गरेर मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको जनाएको छ।
आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी त्यस्तो निर्देशन दिएको हो।
निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ।
वैशाख २८ र २९ गते मतदानस्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरूको वितरण गर्ने र आयोगले उपलब्ध गराएका सामग्री प्रयोग गरेर मतदान गर्ने सही तरिका बुझाउने आयोगको योजना छ।