मंगलबार रातिदेखि स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको छ।
मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि गर्न हुँदैन। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न पाइँदैन ।
मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ।
तर, मौन अवधि सुरु भए पनि उम्मेदवार तथा दलका नेता कार्यकर्ता मतदातालाई प्रभावित गर्न लागिरहेका छन्। उनीहरु मतदाता फकाउन मतदाताको घरघरमै गएर पैसा बाँड्नेदखि विभिन्न प्रलोभन देखाइरहेका छन्।
यस्तै, बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले कब्जामा लिएका छन्।
बुटवल उपमहानगरपालिका–११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती मायालाई लाई कब्जामा लिएका हुन्।
उनीहरुले माया भट्टराईलाई सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको छ।
उता, सिरहामा मौन अवधिमा पैसा बाँडेको आरोपमा सिरहामा नेकपा माओवादीका कार्यकता पक्राउ परेका छन्। पक्राउ पर्नेमा माओवादीका कार्यकर्ता प्रेमकुमार लामा रहेका छन्।
लामालाई गोलबजार नगरपालिका–२ गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय गोल बजारको जिम्मा लगाइएको छ।
गोल बजारका प्रहरी निरीक्षक राजु केसीले लामाबाट मतपत्र र ९ हजार रुपैयाँ बरामद भएको तथा थप अनुसन्धान भइरहेको बताए।