शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ। मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो। सो ब्लकमा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको जनाइएको छ।
सात समुहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिए । ‘आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौं’, उनले भने । तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ ।
वि सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस भनेर सबै खालको तयारी गरिएको पौडेलले बताए। भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ ।
विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरीन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताए।
शीर्ष नेता चितवनमा
भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन आइसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन आएका हुन्।
प्रचण्ड बुधबार चितवन आएका हुन्। उनी गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ। उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ। सो मतदानस्थल एक हजार ६७८ जना मतदाता छन्।
यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दैछन्। । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्नेछन्। सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन्।
यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्नेछन्। उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन्। सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन्। एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए।
यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्नेछन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्ने बताइएको छ।