तनहुँको व्यासमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेर अग्रता लिइरहेका दीपकराज जोशीलाई पूर्व सचिव भीम उपाध्यायले भेटेका छन्।
फ्रन्टलाइन अस्पताल बानेश्वरमा उपचाररत जोशीलाई पूर्व सचिव भीम उपाध्यायले बिहीबार भेटेका हुन्।
स्थानीय तह निर्वाचनको दिन व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरीक्षणमा गएका बेला कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा उनी घाइते भएका थिए। यो वडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा हो।
नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यास नगरपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको थियो। घाइते जोशी गोविन्दराज छोरा हुन्।
जोशीले जारी मतगणनामा अग्रता लिइरहेका छन्। जोशीले एक हजार ७ सय ९३ मत पाएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १ सय ९६ मत पाएका छन् ।