यस पटकको निर्वाचनमा नेपाली कांग्रेस ८ वटा मध्ये ६ वटा पालिकामा प्रमुख र उपप्रमुख तथा एउटा पालिकामा उपप्रमुख गरेर ७ वटा पालिकामा जित हासिल गर्न सफल भएको छ।
गत निर्वाचनमा कुनै पनि पालिकामा विजय हुन नसकेको नेकपा माओवादी केन्द्रले भने यस पटक एउटा पालिकामा विजयी भएको छ। यसैगरी, गत निर्वाचनमा एउटा पालिका जित्न सफल भएको जनता समाजवादी पार्टीले भने यस पटक सो पालिकामा दोहोरिनुका साथै उपमहानगरमा उपप्रमुखमा जित हासिल गर्न सफल भएको छ।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारीअनुसार बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ। नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टीले पुनः विजय भएको छ।
पहिलो पटक एमाले शुन्य, राप्रपाको विरासत जोगिएन
२०७४ सालको निर्वाचनमा ४ पालिका जितेको एमालेले बाँकेमा पहिलो पटक यो निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन। नेकपाको फुट र सत्ता पक्षीय गठबन्धनका कारण एमाले जिल्लामा शुन्यमा झरेको हो।
एमाले अध्यक्ष केपी ओलीले निर्वाचन अघि करिब आधा दर्जन पटक नेपालगञ्ज पुगेर चुनावी रणनीति बनाएको र अन्य पार्टीबाट उम्मेदवार आयात गरेर ल्याए पनि एमालेले यहाँ कुनै पनि पालिका जित्न सकेन।
पार्टीको फुट र गठबन्धनका कारण एमालेले पराजय भोग्नु परेको जनाउँदै यसको विस्तृत समीक्षा गरिने एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए।
यसैगरी, नेपालगञ्ज उपमहानगरमा राप्रपाले आफ्नो विरासत जोगाउन सकेन। राप्रपाका महामन्त्री डा. धवल शमसेर राणाले आफ्नो विरासत जोगाउन अन्तिम समयमा माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाए पनि उनी तेस्रो स्थानमा रहे।