भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम स्थगित भएको छ । दबंग टुर मार्फत उनी नेपाल आउन थालेका थिए ।
जेठ १४ गते दशरथ रङ्गशालामा कार्यक्रमको आयोजना गरिने भनिएता पनि अब त्यो समयमा सो कार्यक्रम नहुने विशेष स्रोतले नेपाली पब्लिकलाई जानकारी दिएको छ ।
यद्यपि यसको आधिकारिक जानकारी आउन भने बाँकी छ । तर जुन ४ तारिकमा दुबईमा हुने आइफा अर्वाड पछि नेपालको दबंग टुरको मिति तय गरिने जनाएको छ । दबंग टुर हेर्नको लागि नेपालमा पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको थियो ।
कार्यक्रममा सलमान खानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।
साथै, नेपालको आयोजक संस्थाले ‘दबंग द टूर नेपाल’ का लागि टिकट बिक्री सुरु गरिसकेको थियो । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । तर, सुरक्षाको कारण देखाउदै उक्त कार्यक्रम स्थगित गरिएको भनिएको थियो ।सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् ।