काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन्।
पछिल्लो सार्वजनिक मतपरिणामअनुसार उनले ५० हजार ६१ मत ल्याएका छन्।
मतगणना सुरुदेखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्। मतगणना उत्तरार्धमा पुग्दा शहको जित करिब सुनिश्चित भएको छ।
हालसम्म महानगरको एक लाख ५० हजार ७२० भोटको गणना भइसकेको छ। काठमाडौंमा कुल १ लाख ९१ हजार १७१ भोट खसेको थियो। त्यसमा अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी छ।
यस्तो अवस्थामा सिंहसँग उनको झण्डै २० हजार मतान्तर छ।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ५००६१
सिर्जना सिंह – ३०७७४
केशव स्थापित – २९९९७
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।
अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ भने वडा नम्बर १७ को मतगणना सुरु हुनै बाँकी रहेको छ। अन्य वडामा भने मतगणना सम्पन्न भइसकेको छ।