काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
मतगणना सुरुदेखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
काठमाडौंमा कुल १ लाख ९१ हजार १७१ भोट खसेको थियो। हालसम्म महानगरको एक लाख ५२ हजार ३०० मतको गणना भइसकेको छ। त्यसमा अब ३८ हजार ७५१ मतगणना गर्न बाँकी छ।
यस्तो अवस्थामा दोस्रो स्थानमा रहेको कांग्रेसकी सिर्जना सिंहसँग बालेनको झण्डै २० हजार मतान्तर छ। मतगणना उत्तरार्धमा पुग्दा शाहको जित करिब सुनिश्चित भएको छ।
हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ५०४५२
सिर्जना सिंह – ३१५३९
केशव स्थापित – ३०८९१
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।
अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ भने वडा नम्बर १७ को मतगणना सुरु हुनै बाँकी रहेको छ। अन्य वडामा भने मतगणना सम्पन्न भइसकेको छ।