नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र अन्तर्घात भएका कारण चुनाव हारिएको बताएका छन्।
एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका हुन्।
अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको दाबी गरे। उनले त्यस विषयमा बृहत्रुपमा समीक्षा गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताए।
‘अरू पार्टीका कारण होइन यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो।’