प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनाव निष्पक्ष नभएको आरोप लगाएका छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका ओलीले बिहीबारको संसद बैठकमा बोल्दै चुनाव निष्पक्ष नभएको र सरकारले व्यापक धाँधली गरेको आरोप लगाए।
उनले चुनावभन्दा पहिला, मतदानका बेला र मतगणनाका बेला पनि एमाले नेता÷कार्यकर्तामाथि आक्रमण भएको रे सत्ता पक्षले बुथ कब्जा गरेको आरोप पनि लगाए।
उनले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी निर्वाचनमा राज्यसंयन्त्र दुरुपयोग गरिएको बताए।
उनले भने, ‘आज १४ दिन भयो। परिणाम किन आइरहेको छैन? निर्वाचन स्वच्छ हुन सकेन। धाँधलीरहित हुन सकेन। सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ।’
ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरीजस्तो भएको टिप्पणी गरे। उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो?’