काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
३२ वडा रहेको काठमाडौंको ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ। त्यहाँको एक हजार भन्दा कम मतगणना गर्न बाँकी रहेको र केहीबेरमा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
हालसम्मको मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह जित नजिक पुगेका छन्। स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ३ सय ९० मत प्राप्त गरी विजयी नजिक पुगेका हुन्। निर्वाचन कार्यालयले उनलाई केहीबेरमा निर्वाचन भएको घोषणा गर्नेछ।
बालेनका समर्थक मतगणना भइरहेको राष्ट्रिय सभा गृह अगाडि अन्तिम मतपरिणाम घोषणाको प्रतिक्षामा छन्। त्यसपछि धन्यवाद र्याली आयोजना हुनेछ।
काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले ३८ हजार १ सय ८७ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३७ हजार ९ सय ४४ मत प्राप्त गरेका छन्।
उपप्रममुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुनिता डङ्गोलको जीत निश्चित छ।