काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र (बालेन) साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् ।
नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन् ।
साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भईन् ।
को हुन् वालेन्द्र साह ?
काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित वालेन्द्र साहको जन्म सन् १९९० मा भएको हो ।वालेन्द्रको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-२ मा पर्छ। साहकी आमाको नाम कुवदेवी साह र बुवाको नाम रामनारायण साह हो । वालेन्द्र साह कोही नभएर र्यापपर हुन्। जसको अध्ययन स्ट्रक्चरल इञ्जिनियर हो। उनको पेशासमेत स्ट्रक्चरल इन्जिनियरिङ हो। महोत्तरीमा जन्मिएका बालेनले इन्जिनियरिङ भारत गएर पढेका हुन्।
आम नेपालीमाझ भने उनी विभिन्न गीत लेखन, गायन, निर्देशनसँगै र र्याप गीतमार्फत् चिनिन्छन्। नेपाली युवा पुस्ताले उनलाई र्यापपरका रुपमा चिन्ने गरेका छन्। उनले काठमाडौं महानगरको नेतृत्वमा पुग्नका लागि आफ्नो र्याप गीतको लोकप्रियतालाई नै धेरै सदुपयोग गरेको देखियो। जसले काठमाडौंमा मात्र होइन राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ।
वालेनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार थिए। वालेनका बुवा डा. रामनारायण साहले गाउँको १० कट्ठा मन्दिरका लागि दान दिएका छन् भने उनको पुर्खौली घरमा अहिले एकडारा गाउँपालिका कार्यालय रहेको छ ।
उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तर गरेका छन्।
शक्तिशाली पार्टीबाट उम्मेदवार बनेका आफ्नो आमा र बुवाको उमेरका सिर्जना सिंह र केशव स्थापितलाई पछारेका वालेनको आजदेखि अग्निपरीक्षा सुरु भएको छ। नागरिकका अपेक्षा धेरै भएकाले वालेनका लागि काठमाडौं महानगरको मेयर पद अवसरसँगै चुनौतीको एउटा पहाडसमेत हो।