पछिल्लो समय काठमाडौं उपत्यकाका अधिकांश स्थानमा बेलाबेलामा बत्ती जाने समस्या देखिन थालेको छ।
पानी परेको तथा हावाहुरी चलेको बाहेकको समयमा पनि दैनिक रुपमा उपत्यकाका अधिकांश स्थानमा बत्ती जाने गरेको उपभोक्ताको गुनासो छ। जसका कारण उपभोक्ताहरु हैरान भएका छन्।
तर, नेपाल विद्युत प्राधिकरण भने समस्या समाधान गर्नुको साटो जिम्मेवारीबाट पन्छिरहेको छ।
प्राधिकरणका कर्मचारी नै हावाहुरी, वर्र्षा र मर्मत सम्भारलाई देखाउँदै अन्य समयमा कहीँ कतै पनि बत्ती नगएको दाबी गर्छन्।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई भन्छन्, ‘बत्ती जाने समस्या हैन । हावाहुरी चल्दा र वर्षा आएपछि कतै बिग्रिएर बत्ती जान्छ होला । कहिलेकाहीँ मर्मत सम्भार भइरहेको बेला विद्युत अवरुद्ध हुन्छ । यो सामान्य हो।’
तर, आम उपभोक्ता भने फेरि लोडसेडिङ हुने हो कि भन्ने पिरमा छन्। केही समयअघि नेपाल विद्युत प्राधिकरणले उद्योथमा तालिका नै बनाएर लोडसेडिङ गरेको थियो। त्यसबाट त्रसित उपभोक्ता फेरि पहिलेकै जस्तो लोडसेडिङ हुने हो कि भनेर त्रसित हुन थालेका छन्।
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो कार्यकालका लागि नियुक्त भएपछि बेलाबेलामा बत्ती जाने समस्या सधैका लागि अन्य हुने अपेक्षा धेरैको थियो। देशलाई लोडसेडिङ मुक्त बनाएर जस पाएका घिसिङको दोस्रो कार्यकालमा उद्योगमा लोडसेडिङ तालिका बन्नु, बेलाबेलामा बत्ती जाने समस्या झन् बढ्नुले पहिलो कार्यकालमा पाएको साख जोगाउन नसक्ने हुन कि भन्ने धेरैलाई लागेको छ।
यस विषयमा बुझ्न खोज्दा घिसिङको फोन उठेन। प्राधिकरणका प्रवक्ता भट्टराईको रेडिमेड जवाफ थियो, ‘फेरि लोडसेडिङ हुँदैन। मर्मत सम्भार तथा हावाहुरी चलेको बेला झ्यापझुप कहीँकतै बत्ती गैहाल्छ।’
लोडसेडिङ हटे पनि विद्युत् प्रणाली भरपर्दो र सुरक्षित बनाउन ध्यान नदिँदा समस्या समाधान हुन नसेको जनगुनासाहरू बढ्न थालेका छन्।
बर्सेनि उत्पादन र माग बढिरहेको विद्युत् वितरणलाई व्यवस्थित, भरपर्दो र गुणस्तरीय बनाउन सकिएन भने फेरि अघोषित लोडसेडिङकै अवस्था आउन सक्छ। जसले लोडसेडिङ अन्त्यको जस लिइरहेका घिसिङको साख ह्वात्तै घटाउनेछ। यसकारण लोडसेडिङको आभास दिलाउने समस्या समाधानका लागि तत्काल घिसिङले तदारुकता देखाउन जरुरी रहेको छ।