नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कुण्ठाको कुनै उत्तर नहुने बताएका छन्।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यलाई कुण्ठाको संज्ञा दिए। बिहीबार नीति तथा कार्यक्रमबारे ओली करिब ३ घण्टा बोलेका थिए । उनले सरकार, सत्ता गठबन्धनमाथि विभिन्न आरोप तथा टिकाटिप्पणी गरेका थिए।
ओलीको मन्तव्यलाई कुण्ठाको संज्ञा दिएका थापाले कुण्ठाको उत्तर नहुने र विचरा भनेर सहानुभूति मात्रै प्रकट गर्न सकिने बताए।
उनले कुण्ठाले रन्थनिएको बेला जसरी पनि बोल्न मिल्ने तर कहाँ ? र कहिले बोल्ने ? भन्ने कुराको बोल्नेले हेक्का राख्नुपर्ने बताए।
उनले संसदमा दिएको मन्तव्यको सम्पादित अंशः
यसअघि बोल्नुभएका प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोलेका प्रत्येक कुराहरुको जवाफ दिनुपर्छ भनेर साथीहरुले भन्नुभएको छ। साथीहरुलाई मैले भनेकाु छु, प्रश्नको उत्तर हुन्छ। विचारको उत्तर हुन्छ। विचारमा टिप्पणी हुन्छ। प्रतिक्रियामा सहमति वा असहमति हुन्छ। कुण्ठामा केही हुँदैन। सहानुभूति मात्रै प्रकट हुन्छ।
रन्थनिएको बेला बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ। पलेटी कसेर, एक खुट्टा टेकेर बोले पनि हुन्छ। कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने हो। हामीले विचरा भन्ने मात्रै हो।
एमालेले निर्वाचन हुँदैन भनेर हल्ला फैलाए पनि सानदार ढंगले सम्पन्न भएको उनले दाबी गरे।