काठमाडौं। पूर्व सचिव भीम उपाध्यायले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा राष्ट्र नेताको गुण रहेको बताएका छन्।
उनले शनिबार समाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रचण्डमा राष्ट्र नेताको गुण रहेको बताएका हुन्।
आफूहरुको अभियानलाई सम्मान गरेका प्रचण्डले विषयलाई सकारात्मक लिन जानेको समेत उपाध्यायले उल्लेख गरेका छन्।
काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहलाई आफ्नो कर्तव्य पूरा गर्न प्रचण्डको ईमानदार साथ रहनुपर्नेमा पूर्व सचिव उपाध्यायले जोड दिएका छन्।
उनले भनेका छन्, ‘राजधानी सुन्दर सफा र सह्राहनीय बनाउने कर्तव्य सबै नेपालीको हो। बालेनलाई दलहरूका नेताहरूले निस्वार्थभावले सहयोग गरेको देख्न पाइयोस्।’
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले बालेनको प्रशंसा गरेका थिए। प्रचण्डले काठमाडौंमा बालेन्द्र साह र धरानमा हर्क साङपाङको विजयी हुनु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने बताएका थिए।
उनले बालेन र हर्कलाई संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएको र फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै रहेको उल्लेख गरेका थिए। साथै, उनले स्वतन्त्र उम्मेदवारलाई घेराबन्दी हुन सक्ने भन्दै उनले सचेत रहन समेत सुझाव दिएका थिए।
पूर्व सचिव उपाध्याय पनि बालेनको पक्षमा सुरुदेखि नै लाग्दै आएका छन्। उनी बालेनको टिमको कोर सदस्य हुन्। बालेनलाई जिताउन विभिन्न माध्यमबाट सहयोग गरेर उपाध्यायको पनि ठूला हात रहेको छ।