पहिरो खसेपछि अवरुद्ध चितवनको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७:२५ बजे दुईतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जिल्लाको इच्छाकामना गाउँपालिका ६ नाग्दी खोला नजिकै शनिबार अपराह्न साढे ५ बजे सुख्खा पहिरो खसेको थियो ।
उक्त पहिरोले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९०९ नंको माइक्रोबस र सोही दिशाबाट आउँदै गरेको प्र ३–०१–०२३च–०५३५ नंको कारमा क्षति पुगेको छ ।
घटनामा परी माइक्रोका चालक नवलपुर कावासोती–७ बस्ने ३६ वर्षीय टीकाराम महतोलाई ढुंगाले हातमा लागि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल रहेको र दुवै सवारीमा क्षति पुगेको छ ।