आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । आज बिभिन्न कार्यक्रमको आयोजना गरि १५औँ गणतन्त्र दिवस मनाइदैँछ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधामन्त्री शेर बहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।
सन्देशमा भनिएको छ, “यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताए । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उहाँले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताए ।
१५ औँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरे ।
प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरे । विसं २०६५ जेठ १५ गते तत्संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।
उनले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै उनले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्नुहुने अग्रज तथा यस अभियानमा सहभागी हुनुहुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको बताए ।