गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा ‘ईको ट्यांगो कल साइन’ भएको जहाज खोजी कार्यमा तीव्रता दिन सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन प्रमुखहरुलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाँणले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो। लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी उनले दिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाँणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए। जहाजको खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए।
काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए। सम्पर्कविहीन जहाजमा १६ नेपाली र ६ विदेशी रहेका पोखरा विमानस्थलले जनाएको छ।