आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ।
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको जानकारी दिए। उक्त क्षेत्र मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्छ।
सो विमानमा रहेका चालक दलका सदस्य तथा यात्रुहरुको अवस्थाको बारेमा पूर्ण विवरण आउन सकेको छैन।
यस क्षेत्रमा मौसमको खराबीका कारण सो क्षेत्रमा जानलाई कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो। जसमा १३ नेपाली, ४ भारतीय, २ जना जर्मनी नागरिक र चालक दलमा ३ सदस्य गरी २२ जना सवार थिए। विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेकोजहाज केही समयपछि सम्पर्कबिहीन भएको थियो।