नेपाली कांग्रेसले तारा एयरको जहाज दुर्घटनाप्रति दुःख प्रकट गरेको छ
प्रवक्ता डा. प्रकाश शरण महतले सोमबार एक विज्ञप्ति जारी गर्र्दै तारा एयरको जहाज दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्।
कांग्रेसले दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
साथै, नेपालको हवाई सेवालाई सुरक्षित बनाउन संभाव्य सबै उपाय अबलम्बन गर्न पनि कांग्रेस नेपाल सरकारसंग माग गरेको छ।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो। उक्त जहाज सोमबार बिहान मुस्ताङको थसाङ गाउँपालिका २ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
जसमा १३ नेपाली, ४ भारतीय, २ जना जर्मनी नागरिक र चालक दलमा ३ सदस्य गरी २२ जना सवार थिए। जसमध्ये हालसम्म १६ जनाको शव फेला परेको र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
हेर्नुस् विज्ञप्तिः
जेठ १६, २०७९
भावपूर्ण श्रद्धाञ्जली र समवेदना
२०७९ जेठ १५ गते आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको यात्रुवाहक जहाज मुस्ताङको थसाङ गाउँपालिका २ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण यात्रुहरुको निधन भएको घटनाप्रति नेपाली कांग्रेस दुःख प्रकट गर्दछ ।
नेपाली कांग्रेस यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
नेपालको हवाई सेवालाई सुरक्षित बनाउन संभाव्य सबै उपाय अबलम्बन गर्न पनि नेपाली कांग्रेस नेपाल सरकारसंग माग गर्दछ ।
जय नेपाल
डा. प्रकाश शरण महत
प्रवक्ता