काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजको टायरमा समस्या देखिएको छ।
टायरमा समस्या देखिएपछि उक्त जहाज बिच बाटोबाटै काठमाडौं नै फर्किएको छ।
जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए।
६९ यात्रु लिएर भद्रपुर जान लागेको उक्त जहाजमा समस्या आएपछि बुद्ध एयरकै अर्को जहाजबाट सबै यात्रुलाई पठाइएको कर्णले जानकारी दिए।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज बिहान १० बजेर ४३ मिनेटमा उडेको थियो।
उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको र अहिले प्राविधिक जाँच भइरहेको छ।