नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुरु भएको छ।
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबारदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो। प्रशिक्षण कार्यक्रम काठमाडौंको कुमारी हलमा भइरहेको छ। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।
निर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन्।
पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ। अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी छन्।
बुधबार उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन्।
आजको प्रशिक्षणपछि माओवादी केन्द्रले जनप्रतिनिधिहरुलाई कुपण्डोलको पाँचतारे होटल हिमालयमा पार्टी दिने भएको छ। पार्टी आज बेलुकी ७ देखि ९ बजेसम्म आयोजना गरिएको छ।