सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाए ठेगान लगाइदिने चेतावनी दिएका छन्।
पार्टीबाट निर्वाचित देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा प्रचण्डले उक्त चेतावनी दिएका हुन्।
उनले अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने कुरा ख्याल गर्न आग्रह गरे। कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट आफूलाई रिपोर्ट आइरहेको उनले जानकारी दिए।
कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिने उनले चेतावनी दिएका हुन्।
उनले चेतावनी दिँदै भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं। तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो। अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ। तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ। भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस्।’