काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
बालेनले बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेका हुन्।
यसअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। अन्तिम मतपरिणाम सार्वजनिक भएको अघिल्लो दिन भेट भएको बताइए पनि उक्त कुरा मंगलबार मात्रै सार्वजिनक भएको थियो।
ओलीसँग भेटको कुरा सार्वजनिक भएको अर्कोदिन बुधबार बालेनले देउवालाई भेटेका हुन्।
सो भेटमा देउवाले आफ्नो पूर्ण समर्थन रहने बालेनलाई आश्वासन दिए। महानगरको कार्यपालिकामा पनि कांग्रेसको बहुमत रहेकोले विकासको काममा सहयोग हुने देउवाले बताए।
भेटका क्रममा प्रधानमन्त्री देउवाले खुसी हुँदै बालेनलाई भने, ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु।’
काठमाडौंको फोहोर व्यवस्थापनको लागि पनि जे जे उपाय छ लगाउन र त्यसमा केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबैबाट सहयोग हुने प्रधानमन्त्रीले बालेनलाई बताएका थिए।
प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरे। बालेनले प्रधानमन्त्री देउवालाई भने, ‘‘विश्वास र साथ दिनुहोला, महानगर बनाउने काम मेरो भयो।’