आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको तेस्रो कारोबार दिनमा पनि सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ।
सोमबार ५० अंकले घटेको बजार, मंगलबार ३५ अंकले झरेको थियो। आज चाहिँ ७.२१ अंकले ओरालो लागेको छ। २१३८ अंकबाट सुरु भएको बजार २१२८.४४ बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबार भएकामध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ। ८४ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। बुधबार मैलुङ खोला जलविद्युत् कम्पनी र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
शेखर इन्स्योरेन्सको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ७.२५ प्रतिशतले घटेर प्रतिकित्ता ३०७ मा कायम भएको छ। आज गुराँस लघुवित्तको सेयर ७ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर ६.८० प्रतिशतले घटेको छ।
आज ३० लाख कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार विकास बैंक उपसमूहको सूचक ०.५८, फाइनान्स ०.३८ र जलविद्युत्को सूचक ०.६८ प्रतिशतले बढेको छ। बाँकी उपसूमहको सूचक भने सामान्य अंकले घटेको छ।