उच्च अदालत कास्कीले अभिनेता पल शाहलाई थुनामा नै राखेर अनुसन्धान गर्ने आदेश सुनाएको छ । तारिकमा रिहाको माग गर्दै अभिनेता पल शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए। बुधवार जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उनी अदालत कास्की पुगेर निवेदन दिएका थिए ।
चैत १० गते न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो । यस्तै, शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो ।
२०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ । शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ । उता जिल्ला अदालतमा भएको बयानमा पिडित किशोरी र उनका बाबुले भने फरक बयान दिएका छन् ।