नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन्।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्।
उनले काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए। प्रमुखका उम्मेदवारहरुको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको बताए।
वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारेपनि निर्णयकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए।
नेपाली कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए।
वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताए।
यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरुले जनताले रुचाउने उम्मेदवार उठाउनु पर्ने भन्दै उनले पुनः मुर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्न नहुने बताए।