काठमाडौं। हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्य प्रसाद खतिवडा, त्रिलोक चन्द, दिपक खनाल र तेज कुमार लोहीले सोमबार हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्।
अध्ययनबिनै हचुवाको भरमा गरिएको दुई दिन विदाको निर्णयले दुरगामी असर पार्ने, मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्रमा जटिलता देखिने भएकाले खारेजीको माग गरिएको रिटमा छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। उक्त रिटको मंगलबारका लागि पेसी तोकिएको छ।
सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।