चार दिनदेखि हराइरहेकी एक बालिकाको शव फेला परेको छ।
जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी सात वर्षीया बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो।
वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी बनेकी उनी सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दूरीमा आज बिहान फेला परेको हो।
आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेका थिए।
बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय छिन्चुको टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।