बर्दिया। बर्दियामा प्रहरीको गोलीबाट एक किशोरीको मृत्यु भएको छ। मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षीया नविना थारुको प्रहरीको गोलीबाट मुत्यु भएको हो।
बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा थारुको मृत्यु भएको हो। टाउकोमा गोली लागेको थारुको उपचारको लागि गुलरिया ल्याउँदै गर्दा सोमबार साँझ बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार बिहान मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयहरुले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए।
स्थानीयले गुलरिया राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द खुलाउनका लागि गरेपछि प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा गोली चलेको थियो।
गृहमन्त्री भन्छन्ः गोली चलाउने आदेश छैन
गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन्।
सोही विषयमा प्रतिनिधसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले भने, ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँको धारणा छ। नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन। म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने, बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन।’
घटनाको छानविनका लागि मन्त्रालयले समिति गठन गरेको मन्त्री खाँणले जानकारी दिए। गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेको छानविन समिति गठन गरिएको छ।
समितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित दिएको छानबिन प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने उनले प्रतिवद्धता जनाए।