काठमाडौं। फोहोर विसर्जनस्थल गर्न जाने लागेका गाडी रोकेपछि धुनिबेसीमा स्थानीय र प्रहरीबीच झडप भएको छ।
झडपको क्रममा १४ जना स्थानीय पक्राउ परेका छन् भने केही स्थानीय र प्रहरी घाइते भएका छन्।
प्रहरीले स्थानीयको अवरोधकैबीच १३० बढी वटा गाडीलाई बञ्चरेडाँडा पठाइएको नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रकाश साहले जानकारी दिए।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिकालगायत स्थानीयवासीबीच आजदेखी फोहोर फाल्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार काठमाडौंबाट फोहोर बोकेका गाडी बन्चरेडाँडातर्फ गएका थिए।
तर, जनप्रतिनिधिले गरेको हस्ताक्षर चित्त नबुझेको भन्दै स्थानीयले सरकारसंग भएको सहमति कार्यान्वयन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै मंगलबार बिहानदेखि फोहोरका गाडी नुवाकोटको धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालिका वडा नम्बर ३ का क्षेत्रमा रोकेका थिए।
स्थानीयहरुले गुठीको जग्गा ९० प्रतिशत स्थानीयलाई उपभोग गर्न दिनुपर्ने, ५१ अर्ब मुआब्जा तिर्नुपर्ने, नाष्टको टोलीले छिट्टै दुर्गन्धमुक्त बनाउनुपर्ने माग गरेका छन्।