धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पछिल्लो १० वर्षमा २८ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्वदेशी र विदेशी गरेर २८ हजार ९६६ जना पर्यटकले अवलोकन गरेका हुन । जसमध्ये एक हजार ६४७ जना विदेशी, एक हजार २३ जना सार्क राष्ट्रका र बाँकी स्वदेशी पर्यटक रहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
निकुञ्जका अनुसार आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७५/७६ सम्म क्रमशः ५४०, ४७१, ९८४, ८२४, एक हजार ९१९, दुई हजार ६४०, चार हजार ७४० र १२ हजार १३८ जना पर्यटक शुक्लाफाँटाको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ३५० जना विदेशी पर्यटकले शुक्लाफाँटा भ्रमण गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
कोरोना महामारीकै क्रममा गत आर्थिक वर्ष २०७७/७८ मा तीन विदेशीसहित दुई हजार ९३५ जना पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६/७७ मा १०० विदेशीसहित एक हजार ७७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए ।
कोरोना महामारीका कारण शुक्लाफाँटाकोमात्रै नभइ सबै ठाउँमा केही वर्षसम्म पर्यटन ठप्प भएको थियो । कोरोना महामारी कम भएपछि फेरि पर्यटन गतिविधि बढेको छ । पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । कोरोनाका कारण प्रभावित जनजीवनदेखि लिएर विभिन्न क्षेत्र सहज भएपछि घुमघामका लागि पर्यटक आउन थालेका हुन । महामारीका क्रममा थला परेको शुक्लाफाँटाको पर्यटन विस्तारै लयमा फर्केको छ ।