बुटवल : लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज (बुधवार) सार्वजनिक हुँदैछ ।
प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक समक्ष दिउँसो प्रस्तुत गर्ने कार्यतालिका छ ।
गएको सोमबार नै प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहे पनि प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि नीति कार्यक्रम बुधबारको लागि सारिएको हो । सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा आगामी बजेटमा यसअघि अधुरा रहेका योजना सम्पन्न गर्ने गरी अधुरा योजनाहरू प्राथमिकतामा पर्ने भएका छन् ।
प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन नीति कार्यक्रमको प्राथमिकतामा परेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।