अछाम। पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
घटनाको अनुसन्धानमा खटिएको सीआइबीको टोलीले मङ्गलबार बेलुकी पाँच जनालाई पक्राउ गरेर सदरमुकाम मङ्गलसेन ल्याए पनि नाम भने सार्वजनिक गरेको छैन।
हराएको पाँच दिनपछि शाही मृत भेटिएका थिए। किटानी जाहेरी लिएर प्रहरीले दोषीलाई कानुनी कारवाहीको सुनिश्चितता नभएसम्म पोष्टमार्टम गर्न नदिने पीडित पक्षको अडानका कारण शनिबार फेला परेको शव हालसम्म घटनास्थलमै रहेको छ। प्रहरी र स्थानीयले घटनास्थलमै शव कुरिरहेका छन्।
घटनाको तालिमप्राप्त कुकुरसहित नेपाल प्रहरीको सीआइबी टोलीले विनायक क्षेत्रमा रहेर आइतबारबाट घटनाको अनुसन्धान गरिरहेको छ।
सोही घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज पाण्डेको टोली अछाम आइसकेको छ।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकको विशेष समयमा बोल्दै अछाम क्षेत्र नम्बर २का सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए।