काठमाडौं। काठमाडौं महानगरपालिकाको फोहोर फाल्ने स्थान बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।
सो क्रममा स्थानीयले ढुंगामुढा हानेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।
प्रहरीले साढे २ सय बढी प्रहरी परिचालन गरेर फोहोरका गाडी बञ्चरेडाँडा पठाइरहेको छ।
काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।
उनीहरुले मंगलबार पनि फोहोर विसर्जनमा अवरोध गरेका थिए। स्थानीयको अवरोधका बीच मंगलबार १५७ ट्रक अर्थात करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा विसर्जन गरिएको थियो। अवरोध गर्ने १४ जनालाई नियन्त्रणमा लिएर साँझ ५ बजे छोडिएको थियो।
आफूले उठाएका मागहरु सम्बोधन नभएको जनाउँदै उनीहरुले सडक अवरोध गर्दै आएका छन्।