जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बीमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताएका छन् ।
प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले ‘छोरी बीमा कार्यक्रम’का लागि ग्लोबल आइएमई बैंकसँग सम्झौता भइसकेकाले छिट्टै सञ्चालन हुने बताए ।
“कोभिड–१९ सङ्क्रमणलगायतका कारणले विगत दुई वर्षदेखि रोकिएको छोरी बीमा कार्यक्रम अब छिट्टै सञ्चालन हुन्छ”, मुख्यमन्त्री राउतले भने, “त्यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र ग्लोबल आइएमई बैंकबीच सम्झौता भइसक्यो, अबको केही दिनभित्रै सञ्चालन हुन्छ ।”
‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउँ’ सँगै सञ्चालित ‘छोरी बीमा कार्यक्रम’ अन्तर्गत हालसम्म प्रदेशका करिब छ/सात हजार छोरीको बीमा भइसकेको र अब थप छोरीको बीमा हुने उनको भनाइ थियो ।
महिला, दलितलगायतका सामाजिक विभेद र थिचोमिचोमा परेका समुदायको उत्थानका लागि प्रदेश सरकारले विभिन्न विधेयक ल्याएर गतिविधि अघि बढाइसकेको भन्दै उनले कार्यान्वयन गर्ने निकाय सक्रिय नहुँदा अपेक्षाकृत कार्य अघि बढ्न नसकेको बताए ।